नेपाल, आधिकारिक नाम: सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक दक्षिण एशियाली भूपरिवेष्ठित हिमाली राष्ट्र हो । यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ । यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ । यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ । लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशङ्कर हिमालको नजीक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रमाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ ।
नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि. छ । उत्तर देखि दक्षिणको चौडाई भने एकनासको छैन । पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ । त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ । यसमा अधिकतम चौडाई २४१ कि.मि. र न्युनतम चौडाई १४५ कि.मि. रहेको छ । यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि. रहेको छ ।
संसारका सबैभन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ वटा नेपालमा पर्दछन्, जसमध्ये संसारको सर्वोच्च शिखर सगरमाथा (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो ।