‘राष्ट्रिय कविता महोत्सव’ २०७८ मा भोजपुरकी कवि कविता राई प्रथम भएकी छिन् । उनको ‘देशको नक्सा’ शिर्षकको कविता प्रथम भएको हो ।
यस्तै धादिङकी अमृता स्मृति दोस्रो, ताप्लेजुङकी सविता बराल, बर्दियाकी निरञ्जनाकुमारी चन्द र नुवाकोटका प्रकाश सिलवाल तृतीय भएका छन् ।
प्रत्येक वर्ष असार ९ गते आयोजना हुने राष्ट्रिय कविता महोत्सव अघिल्लो वर्ष कोभिडका कारण मंसिरमा भएको थियो ।
प्रथम हुने कविले ५० हजार रुपैयाँ, द्वितीयलाई ४० तथा तृतीय हुने तीनजनालाई जनही ३० हजार रुपैयाँ र पदक राष्ट्रपतिको हातबाट पाउनेछन् ।
यस्तो छ उत्कृष्ट घोषित कविता
देशको नक्सा
म कोरिरहेकी छु
देशको सग्लो नक्सा ।
खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू
जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा
आफ्नी आमाको मुहारचित्र ।
अनायस करेसाको डिल भत्किन्छ
पर्खाल उठाउँछु
सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन
कुर्कुच्चा दुखिन्जेल किच्छु-टाल्छु
र मेट्छु धाँजाहरू !
विषाक्त हावा बोकिआउने आँधी
उडाउनै खोज्छ मलाई
बलेँसी चिरा पार्ने मुसलधारे वर्षा
बगाउन खोज्छ मलाई
छानाबाट झरेका पानीका तप्कनाले समेत
शिरदेखि पैतालासम्मै भिजाउँछ
तर पनि म उभिइरहन्छु पहाडजसरी
घरको मूल खाँबो समातेर
र कोरिरहन्छु सहस्र रेखाहरू !
ओ! सिमाना काटिजाने चराहरू
पहाड भत्काएर बगिजाने खोलाहरू
देवल उठाइरहेका पौरखी धमिराहरू
माटोको दरबार उठाइरहेका कमिलाहरू
सुन,
भूगोलका यिनै मसिना रेखाहरूले त
जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई
जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ
र लटरम्म खुसीको घाम फल्छ!
छामिहेर त
आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी
हो, धड्किरहेको छ त्यहाँ
छुटेका भूगोलसँगै छुटेका मनहरू
एकाकार भएको
स्वाधीन देशको सग्लो नक्सा ।